Skip to main content

महर्षि स्कुलका विधार्थी सुप्रिम मल्ललाई ‘सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार २०८०’

काठमाडौं । सानै उमेरदेखि गायन क्षेत्रमा प्रसिद्धि कमाएका बालगायक सुप्रिम मल्ल ठकुरीलाई प्रतिष्ठित ‘सरुभक्त राष्ट्रिय बाल प्रतिभा पुरस्कार(२०८०’ प्रदान गरिएको छ । पोखरामा आयोजित समारोहमा ठकुरीलाई उक्त पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशि ५० हजार रूपैयाँ छ । शिक्षाविद् जर्ज जोन र सरुभक्त श्रेष्ठले सुप्रिमलाई पुरस्कार प्रदान गरे ।


बाजुराको हिमाली गाउँपालिका वडा ६ मा जन्मिएका सुप्रिम भ्वाइस अफ किड्स नेपालको पहिलो सिजनका फस्ट रनरअप हुन् । हाल काठमाडौंस्थित महर्षि स्कुलमा कक्षा ६ मा अध्ययनरत सुप्रिमले हालसम्म १९० वटा गीतहरु रेकर्ड गरिसकेका छन् । उनको स्वरमा लोकगीत, लोक दोहोरी गीत, चलचित्र गीत, आधुनिक गीत, देशभक्त गीत, बाल गीत लगायत देउडा, ठाडोभाका, गजल, सालैजो, पूर्वेली भाका, लिम्बु, किराँती, मधेसी, नेवारी भाकाका गीतहरु रेकर्ड भइसकेका छन् ।देश तथा विदेशका करीब २१० भन्दा बढी मेला, महोत्सव, कन्सर्ट लगायत ५०० भन्दा बढी लाइभ लोकदोहोरी कार्यक्रमहरुमा उनले सहभागिता जनाइसकेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट रारा राष्ट्रिय म्युजिक अवार्ड, बालकल्याण परिषदबाट उत्कृष्ट बालप्रतिभा अवार्ड–२०७९, क्वीन्स बाल स्वर सम्राट अवार्ड, प्रधानमन्त्री शेरबहादर देउवाबाट क्यासनेप उत्कृष्ट बालप्रतिभा अवार्ड, निम्स अवार्ड, ओएसआर अवार्ड, लोकदोहोरी अवार्ड लगायत विभिन्न अवार्ड तथा पुरस्कारहरुबाट यस अघि नै उनी सम्मानित भइसकेका छन् ।